Logo

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा श्रम, युवा तथा रोजगारमन्त्री रामजी यादव केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा २१० जनाको प्रतिस्पर्धामा मन्त्री यादव पराजित भएका हुन् । निर्वाचन आयोगका अनुसार कुल खसेको दुई हजार ९५९ मतमध्ये यादवले ८६९ मत मात्र प्राप्त गरेपछि उनको उम्मेदवारीले सफलता पाउन सकेन । यो नतिजालाई पार्टीभित्रको चुनावी प्रतिस्पर्धाको एउटा अनपेक्षित मोडका रूपमा हेरिएको छ ।

बालेन्द्र शाह नेतृत्वको सरकारमा रहेका १७ मध्ये ८ मन्त्रीले रास्वपाको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए । तीमध्ये मन्त्री यादवबाहेक अन्य सात जना मन्त्रीहरू भने भारी मतका साथ विजयी भएका छन् । विजयी हुनेहरूमा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी रहेका छन् ।

निर्वाचनमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दुई हजार ६०७ मत ल्याएर सर्वाधिक मतका साथ जित हात पार्दा सोविता गौतमले दुई हजार ५९४ मतसहित दोस्रो स्थान हासिल गरिन् ।

रास्वपाको संशोधित विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समिति बनाउने प्रक्रियामा पहिलो चरणको मतदानबाट ९९ जना निर्वाचित भइसकेका छन् ।

अब बाँकी ५१ जना सभापति रवि लामिछानेले मनोनीत गर्नेछन् भने ७ प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन् । मन्त्री यादवको पराजय र अन्य मन्त्रीहरूको प्रभावशाली जितले महाधिवेशनमा नयाँ नेतृत्व चयनको अंकगणितलाई थप रोचक बनाएको छ ।


सम्बन्धित समाचार