Logo

 १२ असार,काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन गर्नेलाई कसुरअनुसार पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था सहितको नयाँ कानुन निर्माण प्रक्रिया अघि बढाएको छ।

भौतिक विकास मन्त्रालयले अघि बढाएको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ मा ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध कडा जरिवानाको व्यवस्था प्रस्ताव गरिएको हो। यसअघि तयार गरिएको विधेयकमाथि हाल छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध कसुरअनुसार फरक–फरक जरिवानाको व्यवस्था गरिएको विधेयकलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको छ।

प्रस्तावित विधेयकअनुसार अपारदर्शी सिसा वा सिसामा अनधिकृत वस्तु राखेर सवारी चलाउने चालकलाई सबैभन्दा बढी एक लाख रुपैयाँ जरिवाना गरिनेछ।

यस्तै, मादक वा नसालु पदार्थ सेवन गरेर सवारी चलाएमा दुई वा तीनपांग्रे सवारीका चालकलाई २५ हजार, साना सवारीका चालकलाई ३५ हजार तथा मझौला र ठूला सवारीका चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारीको निर्धारित गति सीमा नाघेर चलाउने चालकलाई पनि सवारीको प्रकृतिअनुसार २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यसैगरी, ट्राफिक संकेत हटाउने, परिवर्तन गर्ने, बिगार्ने वा केरमेट गर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने प्रस्ताव छ भने निषेधित क्षेत्रमा हर्न बजाउने तथा सडक अनुशासन उल्लंघन गर्नेलाई न्यूनतम पाँच सय रुपैयाँ जरिवाना गरिने व्यवस्था गरिएको छ।

प्रस्तावित विधेयकको दफा ६८ अनुसार ट्राफिक नियम उल्लंघनसम्बन्धी कसुरमा जरिवाना निर्धारण गर्ने अधिकार यातायात निरीक्षकलाई हुनेछ। राष्ट्रिय तथा अन्तरप्रदेश लोकमार्गमा संघ सरकारले तोकेको अधिकृतस्तरका कर्मचारी र अन्य सडकमा प्रदेश कानुनबमोजिम तोकिएका अधिकृतस्तरका कर्मचारीले यातायात निरीक्षकको भूमिका निर्वाह गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै