१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धा केही खुकुलो बनेको छ ।
लामो रस्साकस्सीका बीच पार्टीको महामन्त्री पदका लागि मैदानमा उत्रिएकामध्ये दुई प्रभावशाली नेताहरू कवीन्द्र बुर्लाकोटी र जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरूको अन्तिम नामावलीमा उनीहरूको नाम हटेसँगै महामन्त्री पदको चुनावी समीकरणमा फेरबदल आएको हो ।
सुरुमा महामन्त्री पदका लागि १० जनाले प्रतिस्पर्धा गर्ने तयारी गरे पनि बुर्लाकोटी र खरेलको बहिर्गमनसँगै अब यो दौडमा ८ जना उम्मेदवारहरू मात्र बाँकी रहेका छन् । निर्वाचनको अन्तिम घडीमा आएर भएको यो निर्णयले चुनावी माहोललाई थप रोचक बनाएको छ । हाल महामन्त्री पदका लागि विपीन आचार्य, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली र सागर ढकालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
उता, सहमहामन्त्रीतर्फको प्रतिस्पर्धामा भने कुनै हलचल आएको छैन । सहमहामन्त्रीका सबै उम्मेदवारहरू आफ्नो अडानमा कायमै छन् । पार्टी विधानअनुसार तीन जना सहमहामन्त्री छानिने व्यवस्था रहेकामा अहिले १६ जना उम्मेदवारहरू चुनावी मैदानमा डटिरहेका छन् ।
उम्मेदवारी फिर्ता लिने कुनै पनि आकांक्षी नदेखिएपछि सहमहामन्त्री पदको प्रतिस्पर्धा भने निकै घमासान हुने निश्चित जस्तै बनेको छ ।

















