Logo

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन यतिबेला चितवनमा चुनावी सरगर्मीका साथ अघि बढिरहेको छ ।

लामो समयको प्रतीक्षा र रस्साकस्सीपछि पार्टीले आफ्नो नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया अगाडि बढाएको छ। आज हुने निर्वाचनले रास्वपाको भविष्यको दिशा तय गर्ने धेरैको आँकलन छ ।

पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णीम वाग्ले सर्वसम्मत भएसँगै नेतृत्वको तस्बिर केही हदसम्म स्पष्ट भइसकेको छ । यद्यपि, महिला उपसभापति पदमा भने रोचक प्रतिस्पर्धा देखिने भएको छ । युवा नेतृद्वय सोविता गौतम र तोसिमा कार्की आमनेसामने भएसँगै यस पदमा कसले बाजी मार्ला भन्ने कुराले सबैको ध्यान तानेको छ ।

त्यस्तै, महामन्त्री पदमा भने निकै भिडन्त देखिन्छ । यस पदका लागि ९ जना प्रभावशाली अनुहारहरू मैदानमा छन् । कविन्द्र बुर्लाकोटी, मनिष झा, रञ्जु दर्शनादेखि सागर ढकालसम्मको उपस्थिति र उम्मेदवारीले प्रतिस्पर्धालाई कडा बनाएको छ । महामन्त्रीका लागि उम्मेदवारी दिएका जगदीश खरेलले भने अन्तिम समयमा आएर आफ्नो नाम फिर्ता लिएका छन् ।

सहमहामन्त्री पदका लागि त झन् ठूलो लर्को लागेको छ । खुलातर्फ ११ जनाले उम्मेदवारी दिएका छन्, जसमा रमेश प्रसाई, पुकार बम, असिम शाहलगायतका नामहरू चर्चामा छन् । त्यसैगरी, महिला सहमहामन्त्रीका लागि पनि ५ जना नेतृहरू चुनावी मैदानमा उभिएका छन् ।

छ दिनदेखि चलेको महाधिवेशनमा अधिकांश प्रतिनिधिहरू घर फर्किसकेको अवस्थामा आज हुन लागेको यो निर्वाचन पार्टीको आन्तरिक लोकतन्त्रको अग्निपरीक्षाका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार