Logo

१२ असार,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा “स्वस्थ आँखा, उज्यालो भविष्य“ भन्ने मूल नाराका साथ एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको हो।

शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका स्वास्थ्यकर्मी महेश सिंह धामीसहितको प्राविधिक टोलीले २ सय ६० जना स्थानीयवासीको निःशुल्क आँखा परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको थियो। परीक्षणका क्रममा ५२ जना बिरामीमा मोतियाबिन्दु (क्याट्यारेक्ट) फेला परेको छ।

अस्पतालका स्वास्थ्यकर्मी धामीका अनुसार शिविरमा मोतियाबिन्दु देखिएका ती ५२ जना बिरामीहरूको भोली शनिबार वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने प्रबन्ध मिलाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुदरमाई–८ का वडा सभापति ओमप्रकाश पाण्डेको विशेष पहल तथा बहुदरमाई युवा क्लबको सहकार्यमा यो शिविर सञ्चालन भएको हो। शिविरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालले प्राविधिक सहयोग पुर्‍याएको थियो।

शिविरमा स्थानीय ज्येष्ठ नागरिक, महिला तथा दृष्टिसम्बन्धी समस्या भएका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक ओमप्रकाश पाण्डेले यस्ता विपन्न लक्षित स्वास्थ्य शिविरहरूले ग्रामीण भेगका नागरिकमा समयमै रोग पहिचान गर्न र बेलैमा उपचार पाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। पाण्डे स्थानीय स्तरमा सामाजिक सेवामूलक तथा जनहितका कार्यक्रमहरूमा निरन्तर सक्रिय रहँदै आएका छन्।


सम्बन्धित समाचार