Logo

१२ असार, काठमाडौं । उपत्यकासहित आसपासका क्षेत्रमा बर्डफ्लू सङ्क्रमणको जोखिम बढेपछि पशुसेवा विभागले नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।

सङ्क्रमण फैलन नदिन विभागले प्राविधिक टोली परिचालन गर्नुका साथै नियमित रूपमा नमूना परीक्षण र निगरानीलाई तीव्रता दिएको छ। विशेष गरी काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै महानिर्देशक डा.उमेश दाहालले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन् । हालसम्म ११ जिल्लामा फैलिएको यस सङ्क्रमणका कारण करिब एक सय कुखुरा फार्ममा पन्छी, अण्डा र दाना नष्ट गरिएको छ ।

विभागले सङ्क्रमित क्षेत्रका फार्महरूलाई डेढ महिनासम्म नयाँ चल्ला नराख्न निर्देशन दिएको छ । काठमाडौँका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी र भक्तपुरका चाँगुनारायण, सूर्यविनायकलगायतका स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ । बर्डफ्लूको प्रभावकारी खोप वा उपचार नभएकाले सङ्क्रमित पन्छी नष्ट गर्नु नै उत्तम विकल्प रहेको विभागको निष्कर्ष छ । मानिसमा समेत सर्न सक्ने उच्च सम्भावनालाई मध्यनजर गर्दै विभागले व्यवसायी र उपभोक्तालाई थप सावधानी अपनाउन अपिल गरेको छ ।

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन केन्द्रमा बर्डफ्लू समन्वय समिति र जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छुट्टै समन्वय समिति गठन गरिएको छ ।

विभागका सूचना अधिकारी मुकुल उपाध्यायका अनुसार, नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको आधिकारिक प्रमाणका आधारमा किसानलाई राहतस्वरूप लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था मिलाइएको छ । सङ्क्रमणलाई थप फैलिन नदिन सरकारी संयन्त्रले सक्रियता बढाए पनि पन्छी व्यवसायीहरूमा भने ठूलो चिन्ता देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै