१२ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुन लागेको एक विशेष कार्यक्रमले नेपाली राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउण्डेशनले असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको राष्ट्रिय गोष्ठीमा विभाजित राजनीतिक धारका शीर्ष नेताहरू एकै मञ्चमा देखिने भएका हुन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक उक्त गोष्ठीलाई राजनीतिक विश्लेषकहरूले कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण निकै अर्थपूर्ण रूपमा लिएका छन् ।
उक्त समारोहलाई प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
पछिल्लो समय फरक–फरक राजनीतिक ध्रुवमा उभिएका र एक(अर्काप्रति चर्को आलोचना गर्दै आएका यी शीर्ष नेताहरूको उपस्थिति र साझा मञ्चको प्रयोगले नेपाली राजनीतिमा केही गम्भीर सन्देश दिन खोजेको अनुमान लगाउन थालिएको छ ।
मदन भण्डारीको विचार र योगदानको चर्चा गर्ने बहानामा हुन लागेको यो कार्यक्रमले विभाजित कम्युनिस्ट शक्तिहरूलाई जोड्ने पुलको काम गर्छ वा केवल औपचारिकतामा सीमित रहन्छ, त्यो भने हेर्न बाँकी नै छ ।

















