Logo

२२ असार, शिकारीवास (ठोरी) । बर्षौदेखि राज्यको सेवा सुविधाबाट बञ्चित ठोरीको शिकारीवासवासीले शनिबार भने एकै स्थानमा राज्यको विभिन्न सेवा पाएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको सक्रियतामा शिकारीवासका नागरिकता विहिन नागरिकको नागरिकता प्रमाणपत्रदेखि घरविहन विपन्नलाई घर निर्माणको व्यावस्था र अन्य आवश्यक सेवा र सामग्रीहरु समेत उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुबाट उपलब्ध हुने सेवाहरु शनिबार शिकारीवासमै पुगेर एकैठाउँबाट उपलब्ध गराईएको छ । राज्यबाट नागरिकले पाउनुपर्ने पहिलो सेवा नागरिकता बर्षौदेखि शिकारीवासका स्थानीयले पाईरहेका थिएनन् ।

हिजो एकैपटक आठ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । ठोरी गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने शिकारीवास चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जका कारणले गुणस्तरीय सडक, सञ्चार लगायतका आधारभूत सेवाबाट बञ्चित भएका छन् ।

नागरिकता नहुँदा झन समस्या हुने गरेको गुनासोपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको नेतृत्वदायी भूमिकाले गर्दा एकै दिन आठजनाले नागरिकता पाउनुका साथै पाँचजनाको  लागि आवास भवन निर्माणको समेत शिलान्यास भएको छ । नागरिकता पाउनबाट बञ्चित सोनादेवी, सीतादेवी, पूmलमति कुमारी थारु, गुञ्जा थारु, पुनिया कुमारी, राहुल चौधरी, विशाल चौधरी र सोनिया चौधरीलाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

त्यस्तै गरिब विपन्न पाँच घरपरिवारलाई मधेस प्रदेश सरकारको पूर्वाधार कार्यालय मार्फत ‘जनता आवास कार्यक्रम’ बाट दुईकोठे घर निर्माण गरिदिने भएको छ । घर निर्माणका लागि शनिबार नै सम्झौता भई शिलान्यास पनि गरिएको छ । तीन लाख ७२ हजार लागत अनुमान रहेको जनता आवास कार्यक्रमको दुईकोठे घरको १० प्रतिशत भने स्थानीय श्रमदान हुनुपर्नेछ ।

आर्थिक बर्ष ०८२/०८३ को बजेटबाट घर निर्माण गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख लालबाबु रायले जानकारी दिए । उनका अनुसार विपन्न परिवारका भगियादेवी थारु, तेत्रीदेवी थारु, रामचन्द्र महतो, भरत महतो थारु र पार्वती कुमारी थारुलाई घर निर्माण गरिदिने भएको हो । स्वास्थ्य सेवा अन्तर्गत नारायणी अस्पताल देखि निजी अस्पतालहरुका विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट रोगको परीक्षण तथा औषधि वितरण, गरिएको थियो ।

त्यस्तै शिकारीवास खोलाले गर्ने कटान नियन्त्रणका लागि मधेस प्रदेश सरकारको सिँचाई डिभिजन कार्यालयले १५ लाख बराबरको नदि नियन्त्रण तटबन्ध निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ । त्यस्तै नारायणी अस्पतालको नेतृत्वमा विभिन्न निजी अस्पतालहरुको समेत सहभागितामा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि समेत वितरण गरिएको छ ।

त्यसैगरी मधेस प्रदेशको उद्योग विभागबाट १५ जनालाई सुधारिएको चुल्हो उपलब्ध गराएको छ । हस्क पावर प्रालिबाट उपलब्ध सुधारिएको चूल्हो हस्तान्तरण गरिएको छ । साथै चाडै शिकारीवासका स्थानीयलाई सीपमूलक तालिम उपलब्ध गराउने उद्योग विभागका निर्देशक सुशिल साहले प्रतिबद्धता जनाउनुभयो ।

कृषि ज्ञान केन्द्रलाई किसानलाई आवश्यक परामर्श तथा विषादीको बारेमा समेत जानकारी गराईएको थियो । सञ्चारको सुविधाका लागि नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयको नेतृत्वमा आवश्यक प्राविधिक अध्ययनपछि टेलिफोन सेवाको व्यावस्था पनि डेढ महिनाभित्रमा गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो ।

सेवा उपलब्ध गराएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘मधेस प्रदेशका ८ वटा जिल्ला मध्य सबैभन्दा सुगम जिल्ला पर्सा भनिएपनि ठोरी गाउँपालिकाको सुविधाको दृष्टिकोणले सबैभन्दा दुर्गम स्थानमा आधारभूत आवश्यकताहरु समेत नपुगेको पाईएपछि एकै पटक आधारभूत सेवा र तत्काल सम्बोधन गर्न सकिने सेवाहरु उललब्ध गराएका छौं ।’


सम्बन्धित समाचार