
२२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अहिले बैंक तथा वित्तीय संस्थाहरूमा ५ खर्ब २० अर्ब रुपैयाँ लगानीयोग्य रकम थन्किएको बताउँदै यो लगानीको लागि उत्तम अवसर भएको जनाएका छन्।
आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘प्रि मोनिटरी पोलिसी डिस्कसनु लाई सम्बोधन गर्दै गभर्नर पौडेलले अहिले बैंकहरूमा निक्षेप उच्च रहेको र विदेशी मुद्रा सञ्चिति पनि पर्याप्त रहेकाले दिगो र सन्तुलित विकासका लागि लगानीका नयाँ अवसरहरू आएको उल्लेख गरे।
उनले अब वित्त नीतिले नेतृत्व लिनुपर्ने र ऊर्जाजस्तै लगानीका अन्य क्षेत्रहरू पनि पहिचान गर्नुपर्नेमा जोड दिए। पौडेलले मौद्रिक नीति र वित्त नीतिबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बेला आएको बताए।
ग्रामीण क्षेत्रमा ऋण प्रवाह र आगामी मौद्रिक नीति
गभर्नर पौडेलले अझै पनि ग्रामीण क्षेत्रमा चाहेअनुसार ऋण जान नसकेको स्वीकार गर्दै आगामी मौद्रिक नीतिबाट यसलाई सम्बोधन गरिने बताए। ‘जुन क्षेत्रमा ऋण जाओस् भन्ने चाहेका हौं, त्यहाँ पुगेन भन्ने गुनासो छ, त्यसलाई सम्बोधन गर्ने प्रयास आगामी मौद्रिक नीतिमा हुनेछ, उनले भने।
पौडेलका अनुसार, आगामी मौद्रिक नीतिको प्राथमिकता सबैलाई समेट्ने र सबै क्षेत्रलाई माथि लैजाने हुनेछ। राष्ट्र बैंकले सधैँ दिगो विकासलाई प्राथमिकता दिने उनको भनाइ छ। यसले अर्थतन्त्रमा तरलताको समस्या समाधान गर्दै लगानीको वातावरण बनाउन राष्ट्र बैंक सक्रिय रहेको देखाउँछ।