
२२ असार,वीरगञ्ज । भन्सार जाँचपास र अन्तराष्ट्रिय व्यापार व्यावस्थापनका लागि प्रयोग गरिने प्रविधि (आशिकुडा) प्रणालीको समस्याले भन्सारको दैनिक कार्यसम्पादनमा समस्या भएको छ ।
अन्तराष्ट्रिय व्यापार व्यावस्थापन र भन्सार जाँचपास सम्बन्धी कार्यका लागि धेरै क्षेत्रहरु समेट्ने गरी प्रयोगमा ल्याईएको भन्सार तथ्यांकका लागि स्वचालित प्रणाली (-Automated system for customs Data) प्रणालीमा आएको प्राविधिक समस्याले गर्दा नेपालको भन्सार प्रणाली नै प्रभावित भएको छ ।
आसिकुडा प्रणाली विदेश नेपालमा भन्सार जाँचपास प्रक्रियालाई पूर्णरुपमा स्वचालनमा लैजानका लागि आसिकुडा वल्र्ड लागू गरिएको छ । यसलाई नेपालमा (Nepal Customs Automation System) (NECAS) को नामले प्रयोगमा आएको छ । भन्सार जाँचपास र तथ्यांक विश्लेषण सम्बन्धी सम्पूर्ण कार्य यसै प्रणालीमार्फत् हुने गरेको छ ।
तर, नेपालको भन्सार विन्दुमा भने यो प्रणालीको सर्भर डाउन हुँदा भन्सारको कार्यसम्पादन प्रभावित भएको छ । यो प्रणालीलाई दिगो सञ्चालनका लागि भन्सार विभागमा आफ्नै केन्द्रीय डाटा सेन्टरको स्थापना गरेर कनेक्टिभिटी को उपयुक्त व्यावस्थापन गर्न तीन तहको इटरनेट र इट्रानेटको सेवा छुट्टाछुट्टै सेवा प्रदायकहरुसँग लिने व्यावस्था मिलाईएको छ । जसको कारणले सेवा प्रवाह प्राविधिक कारणबाट कहिले असर नपुग्ने भनिएपनि अहिले बर्षौदेखि समस्या भोग्दै आएको भन्सार अधिकारीहरु नै बताउछन् ।
भन्सारको आसिकुडा प्रणाली भन्सार विभाग, आन्तरिक राजस्व विभाग र भन्सार कार्यालयको व्यावस्थापनको जिम्मा पाएका कम्पनीहरुबीच पनि अन्तरसञ्जाल जोडिएको छ । त्यसैले आसिकुडा आएको समस्याले गर्दा आयात निर्यात गर्ने व्यावसायीहरु र भन्सार कार्यालयको व्यावस्थापनको जिम्मा पाएका कम्पनीहरुको दैनिक कार्यसम्पादन पनि प्रभावित भएको वीरगन्ज भन्सार जाँच चौकी (आइसीपी) को व्यावस्थापनको जिम्मा पाएको ट्रान्स हिमालयन लजिष्टिक लिमिटेड वीरगन्जका टर्मिनल मेनेजर गणेश प्रसाद घिमिरेले बताए ।
उनले भने, ‘चार महिना अघिदेखि धेरै समस्या भएको छ । बीचमा १५ दिन राम्रोसँग चल्यो । अहिले एक महिनादेखि समस्या भएको छ । आसिकुडामा सर्भरले काम नगर्दा दुख पाईरहेका छौं । सेवाग्राहीहरुबाट पनि गाली खाईरहेका छौं । प्राविधिक समस्या सेवाग्राहीले बुझ्दैनन् । पैसा लिनका लागि सर्भर बिग्रियो भन्ने बाहाना बनायो भन्ने आरोप खेप्नुपर्छ ।’ उनका अनुसार आईसीपी भन्सारबाट मात्रै दैनिक सातसय मालवाहक सवारी साधन आवतजावत गर्छन् । ती सवारी साधन एकदिन बस्यो भने व्यावस्थापन पक्षलाई तनाव हुने गरेको घिमिरे बताउछन् ।
नेपालको प्रशासन प्रशासनमा १९९८ देखि आसिकुडा प्रणालीमा प्रज्ञापनपत्रको लगत राखी तथ्यांक प्रशोधन शुरु गरिएको हो । हाल नेपालका ठूला साना गरी २४ भन्दा बढी भन्सार कार्यालयहरुमा यो प्रणाली लागू गरिएको छ । यसै प्रणाली मार्फत भन्सारका जाँचपास सम्बन्धी काम हुने गरेको छ । तर, यही प्रणालीमा आएको समस्याले देशको प्रमुख राजस्व संकलन गर्ने भन्सार कार्यालयहरुमा भने समस्या भएको छ ।
भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौला आसिकुडाको समस्या २०७८ सालदेखि नै रहेको बताउछन् । उनी भन्छन्, ‘२०७८ सालदेखि नै समस्या देखिएको हो । केन्द्रीय डाटा सेन्टरको क्षमता कमजोर भएर हो या के भएर हो । बेला बेलामा समस्या भईरहेको छ । झण्डै एकसय मुलुकमा यो प्रणाली सञ्चालनमा छन् । अन्य देशमा कस्तो छ । हाम्रो नेपालमा भने यसको प्राविधिक पक्ष अत्यन्त कमजोर छ ।’