Logo

२२ असार,वीरगञ्ज । मधेश युवा विकास महोत्सव संस्थाद्वारा बिरगंजको एपेक्स म्यानेजमेन्ट कलेजमा आयोजित पत्रकार सम्मेलनमार्फत आउँदो श्रावण २७ गते मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा “मधेश युवा विकास महोत्सव” आयोजना गरिने जानकारी दिइएको छ।

कार्यक्रममा संस्थाका मधेश प्रदेश अध्यक्ष कृष्णमोहन सहनी, साथै अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। सम्मेलनमा बोल्दै अध्यक्ष सहनीले मधेशका युवाहरूले देश विकासमा ठूलो योगदान दिए पनि राज्यले तिनको योगदानलाई बेवास्ता गर्दै आएको गुनासो गरे।

उनले भने, “नेपालको आर्थिक नगरी भनेर चिनिने बिरगंजको अवस्था दिनप्रतिदिन खराब बन्दै गएको छ। यहाँको शिक्षा, स्वास्थ्य र पूर्वाधारको स्थिति नाजुक छ। सबैभन्दा बढी राजस्व तिर्ने शहर बिरगंज भए पनि राज्यको नजरअन्दाजमा परेको छ। यसैले हामीले युवाहरूको आवाज बुलन्द गर्न महोत्सव आयोजना गरेका हौं।”

महोत्सव बिरगंजको क्लासिक ब्यांकेट पार्टी प्यालेसमा हुनेछ। कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थी, युवा, व्यापारी, राजनीतिक व्यक्तित्व, र कृषकहरूको सहभागिता रहनेछ। विशेषगरी बारा, पर्सा र रौतहट जिल्लाका५०० भन्दा बढी विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ।

कार्यक्रमका विशेष आकर्षणहरूमध्ये शिक्षाको पहुँच, कृषि क्षेत्रको लगानी, युवा रोजगारी, र स्थानीय व्यापारिक चुनौतीहरूमा केन्द्रित प्यानल छलफल रहनेछ। आयोजकले केन्द्रिय राजनीति क्षेत्रबाट एक जना तथा मधेश प्रदेश सभाबाट पनि एक जना प्रतिनिधिलाई निमन्त्रणा गर्ने तयारी गरेको छ।

अध्यक्ष सहनीले जानकारी दिएअनुसार, कार्यक्रममा लाग्ने खर्चका लागि बारा र पर्साका विभिन्न स्थानीय पालिकासँग सहकार्य गरिएको छ।।


सम्बन्धित समाचार