
२३ असार, वीरगञ्ज । स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरविरुद्ध अभद्र व्यवहारको मुद्दामा जाहेरी परेको छ । मादक पदार्थ सेवन गरेर पत्रकारमाथि दूर्व्यवहार गरेको आरोपमा अधिकृत ठाकुर विरुद्ध पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको जाहेरी दिएका हुन् ।
आईतबार जिल्ला स्वास्थ्य कार्यालय पर्साले क्लासिक बंक्वेटमा आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा फोटो खिचेको भन्दै ठाकुरले पत्रकारहरुलाई अपशब्दले गालीगलौज गर्दै दूव्र्यवहार गरेका थिए । चलचित्र पत्रकार संघलेले क्लासिक बंक्वेटमै आयोजना गरेको चलचित्रको पोष्टर सार्वजनिक गर्ने कार्यक्रममा गएका पत्रकारले झुक्किएर स्वास्थ्य कार्यालयले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा पुगेर फोटो खिचेका थिए ।
अहिले सबैतिर असारे बजेटको कार्यक्रमहरु भईरहेकाले पत्रकारहरुले त्यो पनि असारेज बजेट नै होला भनेर फोटो खिचेर बाहिर आएका थिए । त्यसपछि अभिमूखीकरणमा सहभागीहरुले ठाकुरलाई पत्रकारहरुले फोटो खिचेको जानकारी गराएपछि ठाकुर आएर अपशब्द प्रयोग गर्दै पत्रकारहरुलाई दुव्र्यवहार गरेका थिए ।
अभिमुखीकरण कार्यक्रम भईरहेको ठाउँमा पुगेको पत्रकारले फोटो खिचेर असारे बजेटको कार्यक्रम हो भनेर प्रश्न गरेपछि ठाकुर आक्रोशित भएर आई पत्रकारलाई गालीगलौज गरेका थिए । उनले पत्रकारहरुलाई गालीगलौज र दुव्र्यवहार गर्न थालेपछि पत्रकारले मदिरा सेवन गरेका आएको हो ? भन्ने प्रश्न गरेपछि उनी त्यहाँबाट भागेका थिए ।
उनलाई मादक पदार्थ सेवनको स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका थिए । उनलाई मापसे परीक्षण गर्नुपर्ने अडान लिएपनि उनको मापसे परीक्षण नभएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा आधा दर्जन पत्रकारहरुले अभद्र व्यवहारमा कारवाहीको माग गर्दै जाहेरी दिएका छन् ।
साँझ जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनको खोजी गरेको थियो । सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार आईबार साँझै उनको मोबाईल ट्रेसिङ गर्दा मोबाइल स्वीच अफ गरेको पाईएको प्रहरी नायव उपरीक्षक लम्सालले बताए । आज ठाकुर विरुद्धको कारवाही अगाडि बढाउने उनले बताए ।