
२३ असार, महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका–७ स्थित कृषि सडकमा कल्भर्ट निर्माणको क्रममा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा रामगोपालपुर–५ निवासी ३२ वर्षीय छटु मुखिया रहेका छन्। आइतबार साँझ भोयल निम्किया गाउँमा निर्माणाधीन कल्भर्टमा काम गर्दै गर्दा अचानक माथिबाट चुँडिएको विद्युत् तार उनको शरीरमा खस्दा गम्भीर रूपमा घाइते भएका मुखियाको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी रोशनकुमार यादवले जानकारी दिए।
स्थानीयवासी र मृतकका परिवारले नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
प्रहरीले घटनास्थलको सर्जमिन गरी आवश्यक प्रमाण संकलन गरेको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।