२२ असार, काठमाडौं । नेपालको सेयर बजारमा म्युचुअल फन्डहरूको लगानी उल्लेख्य रूपमा वृद्धि भएको छ ।
जेठ मसान्तसम्ममा म्युचुअल फन्डहरूले कुल ४८ अर्ब ३७ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो लगानी खुलामुखी र बन्दमुखी योजनाहरूमार्फत भएको हो। पछिल्लो दुई महिनामै (चैत मसान्तदेखि जेठ मसान्तसम्म) म्युचुअल फन्डहरूको बजार लगानी २ अर्ब ४६ करोड रुपैयाँले बढेको छ। चैत मसान्तसम्म उनीहरूको कुल लगानी ४५ अर्ब ९१ करोड रुपैयाँ थियो ।
म्युचुअल फन्डको कुल सम्पत्तिमा सेयर बजारको लगानी ७२ प्रतिशत हिस्सा ओगटेको छ। जेठ मसान्तसम्ममा म्युचुअल फन्डको कुल कोषको आकार ६३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन चैत मसान्तको तुलनामा ६।७५ प्रतिशतले बढी हो। चैत मसान्तमा कुल कोष ५९ अर्ब ६९ करोड रुपैयाँ थियो।
लगानी विविधीकरण गर्दै, जेठ मसान्तसम्म फन्डहरूले ४ अर्ब ९३ करोड रुपैयाँ मुद्दती निक्षेपमा र १० अर्ब ४२ करोड रुपैयाँ नगदमा राखेका छन्। म्युचुअल फन्डले कुल लगानीको अधिकतम १५ प्रतिशतसम्म मात्र मुद्दती निक्षेपमा राख्न पाउने व्यवस्था छ। थप केही नयाँ म्युचुअल फन्ड योजनाहरू सञ्चालनमा आएसँगै कुल सम्पत्ति र लगानी रकममा वृद्धि देखिएको हो। जेठ मसान्तसम्ममा कुल ३८ वटा बन्दमुखी योजना र ८ वटा खुलामुखी योजना सञ्चालनमा रहेका छन्।
म्युचुअल फन्डको लगानी रणनीतिः कसरी छानिन्छन् कम्पनीहरू?
म्युचुअल फन्डहरूले लगानीकर्ताबाट संकलन गरेको रकमलाई विभिन्न रणनीतिअनुसार सेयर बजारमा परिचालन गर्छन्। उनीहरूको मुख्य लक्ष्य उच्च प्रतिफल दिने कम्पनीहरूमा लगानी गर्नु हुन्छ।
एनएमबी क्यापिटलका सीईओ दिपेश वैद्यका अनुसार फन्डहरूले प्रतिफलमूलक कम्पनीहरू छनोट गरेर लगानी गर्छन्। दैनिक कारोबारका लागि केही रकम भने नगदमै राखिने उनको भनाइ छ। धेरैजसो म्युचुअल फन्डहरूले प्राविधिक रूपमा बढ्ने देखिएका कम्पनीहरूलाई कारोबारका लागि र दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिने कम्पनीहरूलाई ‘होल्ड’ (राख्नका लागि) छनोट गर्ने रणनीति लिन्छन्।
कसरी गरिन्छ कम्पनी छनोट?
म्युचुअल फन्ड कम्पनीहरूमा अनुसन्धान र अध्ययनका लागि छुट्टै रिसर्च टिम राखिएको हुन्छ। यही टिमले विभिन्न वित्तीय सूचकहरू र बजारको अवस्थाको गहिरो विश्लेषण गर्छ। रिसर्च टिमको अध्ययन प्रतिवेदनका आधारमा व्यवस्थापन टिमले लगानीका लागि उपयुक्त कम्पनीहरू छनोट गर्छ।
आम लगानीकर्ताका लागि म्युचुअल फन्डको रणनीति
म्युचुअल फन्डको रोजाइमा परेका कम्पनीहरूको जानकारी आम लगानीकर्ताले सजिलै हेर्न पाउँछन्। विशेषज्ञ टिमले अध्ययन गरेर छनोट गर्ने भएकाले म्युचुअल फन्डले लगानी गरेका कम्पनीहरू सर्वसाधारण लगानीकर्ताका लागि पनि उपयुक्त हुन सक्छन्। कतिपय लगानीकर्ताले म्युचुअल फन्डले छनोट गरेका कम्पनीहरूलाई नै आफ्नो लगानी रणनीतिको आधार बनाउँछन्। तर, म्युचुअल फन्डको लगानी सधैँ एउटै कम्पनीमा सीमित नहुन सक्छ।
लगानीकर्ता सुवासचन्द्र ढुंगानाका अनुसार, म्युचुअल फन्डले खरिद गरेको प्रतिसेयर औसत मूल्यभन्दा बजार मूल्य कम भएको बेला खरिद गर्नु उपयुक्त रणनीति हुन सक्छ। यद्यपि, म्युचुअल फन्डले किनेको भन्दैमा उनीहरूको औसत खरिद मूल्यभन्दा धेरै माथि गएर खरिद गर्नु जोखिमपूर्ण हुन सक्ने उनी बताउँछन्।

















