२३ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ।
उपकुलपति छनोट सिफारिस समितिले टुङ्गो लगाएका यी नामहरू प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको समितिले आइतबारको बैठकबाट तीन जनाको नाम छनोट गरेको थियो। उक्त समितिले त्रिविको उपकुलपतिका लागि प्रतिस्पर्धामा रहेका १२ जनामध्येबाट पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफलपश्चात तीन जनाको नाम अन्तिम सिफारिस गरेको हो। यद्यपि, सिफारिसमा परेका व्यक्तिको नाम भने गोप्य राखिएको छ।
स्रोतका अनुसार, निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा.उपेन्द्र कोइराला र प्रा. डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको बुझिएको छ। तत्कालीन उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। बरालले चार वर्षको कार्यकालका लागि नियुक्त भए पनि १३ महिनामै राजीनामा दिएका थिए, जसलाई कुलपति ओलीले चैत २८ गते स्वीकृत गरेका थिए। त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
उपकुलपति रिक्त भएको अवस्थामा तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीले यो जिम्मेवारी निर्वाह गर्दै आएका छन्। अब चाँडै नै नयाँ उपकुलपति नियुक्त हुने समिति स्रोतले जनाएको छ।

















