Logo

२४ असार, काठमाडौं । नेपालको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार देखिएको छ ।

भुक्तानी सन्तुलनमा सुधार हुँदै चालू आर्थिक वर्षको पहिलो ११ महिनामा ४९१ अर्ब ४४ करोड रुपैयाँले नाफामा पुगेको छ। यो नेपालमा भित्रिने कुल विदेशी मुद्रा, बाहिरिनेभन्दा सोही बराबरले बढी भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्षको सोही अवधिमा भुक्तानी सन्तुलन ४२४ अर्ब ७० करोडले नाफामा रहेको थियो। अघिल्लो महिना (बैशाख) सम्म ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेकोमा, जेठ महिनामा मात्रै यो करिब ५३ अर्ब रुपैयाँले वृद्धि भएको छ, जसले अर्थतन्त्रमा सकारात्मक प्रवाहको संकेत गर्छ।

चालु खाता र विदेशी लगानीको अवस्था

समीक्षा अवधिमा चालु खाता पनि ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २०० अर्ब ३८ करोडले बचतमा थियो। अमेरिकी डलरमा हेर्दा, अघिल्लो वर्ष १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा पुगेको छ।

यसैगरी, खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ, जुन गत वर्षको ५ अर्ब ४६ करोडको तुलनामा बढी हो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) पनि बढेर ११ अर्ब ९ करोड रुपैयाँ भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो ८ अर्ब २४ करोड रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै