२४ असार, काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्म बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फको कर्जा लगानी ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार, यो वृद्धिले देशको आर्थिक गतिविधिमा सुधार आएको संकेत गर्छ। गत आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँले मात्र बढेको थियो। यस वर्षको वृद्धि वार्षिक बिन्दुगत आधारमा ८ दशमलव ७ प्रतिशत पुगेको छ।
कर्जाको वितरण र वृद्धिदर
जेठ मसान्त २०८२ सम्म, बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये ६३ प्रतिशत गैरवित्तीय संस्थागत क्षेत्रमा र ३७ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा गएको छ। चालु आर्थिक वर्षको जेठसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८ दशमलव ४ प्रतिशत, विकास बैंकहरूको ४ दशमलव ७ प्रतिशत, र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६ दशमलव ९ प्रतिशतले बढेको छ।
धितो र औद्योगिक क्षेत्रगत कर्जाको अवस्था
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये १४ दशमलव ५ प्रतिशत चालु सम्पत्तिको सुरक्षणमा र ६५ प्रतिशत घरजग्गा धितो सुरक्षणमा रहेको छ। विभिन्न औद्योगिक क्षेत्रहरूमा पनि कर्जा प्रवाहमा वृद्धि देखिएको छ । जसअनुसार औद्योगिक उत्पादन ८ दशमलव २ प्रतिशत, निर्माण क्षेत्र १२ दशमलव ९ प्रतिशत, थोक तथा खुद्रा व्यापार ५ दशमलव २ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १३ दशमलव ५ प्रतिशत, सेवा उद्योग ८ दशमलव ८ प्रतिशत, उपभोग्य क्षेत्र १० दशमलव ९ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
कर्जाका प्रकारहरूमा हेर्दा, ट्रस्ट रिसिट (आयात) कर्जा ६२ दशमलव २ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ४२ दशमलव ८ प्रतिशतले बढेको छ। यद्यपि, अधिविकर्ष कर्जा भने १३ दशमलव २ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ।

















