२६ असार, काठमाडौं । आज सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ । यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो । आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको कारोबार भएको हो । १६१ कम्पनीको मूल्य बढ्यो बढ्दो ८७ कम्पनीको घटेको छ । बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । नेप्से ० दशमलव ९५ प्रतिशत बढ्दा सो समूह सबैभन्दा धेरै ३ दशमलव ०२ प्रतिशत बढ्यो । विकास बैंक १ दशमलव १२, फाइनान्स ० दशमलव ५१, होटल तथा पर्यटन ० दशमलव १४, लगानी ० दशमलव ३५, जीवन बीमा ० दशमलव १९, उत्पादन तथा प्रशोधन ० दशमलव ४५, माइक्रोफाइनान्स १ दशमलव ४६, निर्जीवन बीमा ० दशमलव २७ तथा अन्य ० दशमलव १७ प्रतिशत बढे । व्यापार ०.५३ तथा हाइड्रोपावर ० दशमलव २२ प्रतिशत घटे ।
माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८ दशमलव १५ प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ६ दशमलव ७६, समता घरेलु लघुवित्तको ६ दशमलव ५७, भगवती हाइड्रोपावरको ६ दशमलव ५२, सानिमा बैंकको ४ दशमलव ८० प्रतिशत मूल्य बढ्यो ।
प्रतिशतका आधारमा आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक तथा कृषि विकास बैंक अगाडि रहे । ती सबै बैंकको मूल्य ३.४५ प्रतिशतभन्दा धेरै बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ९ दशमलव ९ प्रतिशत घट्यो । राप्ती हाइड्रोको ६ दशमलव ४, सिन्धु विकास बैंकको ४ दशमलव ३ तथा पन्चकन्या माइको ४ दशमलव ३ प्रतिशत घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स छन् । बजारको पूँजीकरण ४५ खर्ब ५१ अर्ब पुगेको छ ।

















