Logo

२१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २९ अर्ब २५ करोड रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।

यसका लागि केन्द्रीय बैंकको बैंक तथा वित्तीय व्यवस्थापन विभागले क, ख, र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई ३६६ दिन अवधिको मुद्दती निक्षेपका लागि ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

कुन वर्गका बैंकलाई कति रकम?

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरूलाई २३ अर्ब ४० करोड ४० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरूलाई ४ अर्ब ३८ करोड ७० लाख रुपैयाँ, ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूलाई १ अर्ब ४६ करोड २० लाख रुपैयाँ प्रदान गर्नेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आगामी साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले मुद्दती निक्षेप स्वीकार गर्नका लागि केही महत्त्वपूर्ण सर्तहरू तोकेको छ।

जसमा बैंक वा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष कायम भएको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशतभन्दा कम भएको हुनुपर्ने, तरल सम्पत्ति खुद निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको हुनुपर्ने, रियल स्टेट कर्जा तोकिएको सीमाभन्दा कम नभएको हुनुपर्ने, अघिल्लो आर्थिक वर्ष सञ्चालन मुनाफामा रहेको हुनुपर्ने, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी भएको हुनुपर्ने सर्तहरु तोकिएको छ ।

यी सर्तहरू पूरा गर्ने बैंक तथा वित्तीय संस्थाहरूले मात्र राष्ट्र बैंकको यो मुद्दती निक्षेपमा लगानीको अवसर पाउनेछन् ।


सम्बन्धित समाचार