२ भदौ,काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजनीतिक यात्रा सुरु गर्ने औपचारिक जानकारी दिएका हुन्।
प्रसाईंले विगतमा आफूले सञ्चालन गरेको अभियानमा राज्यबाट अवरोधहरु सिर्जना भएको उल्लेख गर्दै त्यसको प्रतिकारस्वरूप अब प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न हुने निर्णय गरेको बताए।
“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ,“ प्रसाईंले भने, “अब मेरो व्यक्तिगत स्वार्थभन्दा पनि देश र जनताको हित पहिलो प्राथमिकतामा परेको छ। राजनीतिले देश बिगारेको छ, त्यसैले सुधारका लागि हामी स्वयं राजनीतिमा आउन बाध्य भएका छौं।“
उनले निकट भविष्यमै नयाँ दलको नाम सार्वजनिक गर्ने जनाए। “अब हामी राजनीतिक शक्ति निर्माणतर्फ लाग्छौं,” उनले थपे, “हाम्रो अभियान र अभियानमा सम्लग्न साथीहरू मिलेर पार्टी खोल्ने निर्णयमा पुगेका छौं।”
प्रसाईंको नयाँ राजनीतिक दलले नेपाली राजनीतिक वृत्तमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो र बहस सुरु भएको छ।
















