११ भदौ, काठमाडौँ । नेपालको सार्वजनिक ऋण निरन्तर बढिरहेको छ ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै १४ अर्ब २ करोड रुपैयाँ थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार, साउन मसान्तसम्ममा देशको कुल सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यो रकम नेपालको कुल गार्हस्थ उत्पादनको ४३ दशमलव ९४ प्रतिशत हो । कुल ऋणमध्ये ५२ दशमलव २६ प्रतिशत वैदेशिक ऋण (१४ खर्ब २ अर्ब) र ४७ दशमलव ७४ प्रतिशत आन्तरिक ऋण रहेको छ।
चालू आर्थिक वर्षको ऋण परिचालन
यस वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखिएकोमा साउनसम्ममा ४४ अर्ब ५७ करोड रुपैयाँ प्राप्त भइसकेको छ। प्राप्त ऋणमध्ये आन्तरिक ऋण ४० अर्ब र बाह्य ऋण ४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। चालू आर्थिक वर्षमा ऋणको साँवा–ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । साउन महिनासम्ममा ३६ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भइसकेको कार्यालयले जनाएको छ।















