१९ फाल्गुण, काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धको आगोले अब विश्वकै भान्सा र उद्योगलाई पोल्ने संकेत देखाएको छ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि आक्रोशित बनेको तेहरानले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने ‘होर्मुज जलडमरूमध्य’ बन्द गर्न सक्ने संकेत दिएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा उच्च सतर्कता अपनाइएको छ ।
इरानले आफ्ना विरोधी राष्ट्रहरूका सम्पत्ति र सैन्य संरचनालाई निशाना बनाउन थालेपछि विश्वभरका लगानीकर्ता र विश्लेषकहरूले कच्चा तेलको मूल्यमा अकल्पनीय उछाल आउन सक्ने चेतावनी दिएका छन् । यो जलमार्ग केवल एउटा समुद्री बाटो मात्र नभई विश्वको झण्डै एक तिहाइ तेल र पाँचौँ हिस्सा एलएनजी ग्यास ओसारपसार हुने मुख्य ‘धमनी’ हो, जसको अवरोधले विश्व अर्थतन्त्रलाई नै मन्दीको भुमरीमा धकेल्न सक्छ ।
१५० भन्दा बढी तेल र ग्यास ट्याङ्करहरू खुला समुद्रमा
होर्मुज जलमार्गको संवेदनशीलता कति छ भन्ने कुरा यसको भौगोलिक बनावट र यहाँबाट हुने व्यापारले स्पष्ट पार्छ । ओमान र इरानको बीचमा रहेको यो साँघुरो समुद्री मार्ग भएर दैनिक २ करोड ब्यारेल कच्चा तेल विश्व बजारमा पुग्छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जहाजहरूलाई अनुमति बिना अघि नबढ्न चेतावनीपूर्ण सन्देश पठाउन थालेपछि अहिले १५० भन्दा बढी तेल र ग्यास ट्याङ्करहरू खुला समुद्रमा लामवद्ध भएर रोकिएका छन् । यदि यो मार्ग पूर्ण रूपमा ठप्प भयो भने विश्वको २० प्रतिशत पेट्रोल र जेट इन्धनको आपूर्ति एकै रातमा रोकिनेछ। विश्लेषकहरूका अनुसार तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्ने र त्यसले विश्वव्यापी मुद्रास्फीतिलाई झनै भयावह बनाउने निश्चित देखिएको छ ।
एशियाली शक्ति राष्ट्रहरू ठूलो मारमा
विशेष गरी चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता एशियाली शक्ति राष्ट्रहरू यस संकटको सबैभन्दा ठूलो मारमा पर्ने देखिएका छन् । होर्मुज भएर जाने तेलको ८४ प्रतिशत हिस्सा एशियाली मुलुकहरूतर्फ नै सोझिने गर्दछ। ऊर्जा विश्लेषकहरूका अनुसार ढुवानीमा हुने सामान्य अवरोधले पनि यातायात, विद्युत र औद्योगिक उत्पादनको लागत ह्वात्तै बढाउनेछ, जसको प्रत्यक्ष असर उपभोक्ताको गोजीमा पर्नेछ ।
यसअघिका तनावहरूमा समुद्री मार्गमा खासै अवरोध नदेखिए पनि यसपटक ऊर्जा पूर्वाधार नै युद्धको निशानामा परेपछि विश्व समुदाय त्रसित बनेको छ । यदि यो तनाव तत्काल मत्थर नभए कमजोर अर्थतन्त्र भएका मुलुकहरूका लागि आगामी दिन निकै कष्टकर हुने निश्चित छ ।

















