Logo

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रदेश अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गर्दै छ ।

भोलि मङ्गलवार (जेठ २६ गते) हेटौँडास्थित ‘हिमालयन दरबार’ मा आयोजना हुने यस विशेष अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम छ। स्थापनाकालदेखि नै प्रदेशको नेतृत्व सम्हालिरहेका वर्तमान सभापति डा.अच्युत्तम लामिछानेले सोही पदमा पुनः दोहोरिने इच्छा व्यक्त गरेसँगै अधिवेशनमा चुनावी प्रतिस्पर्धाको माहोल तातेको छ। उनले केन्द्रीय समितिमा जानेभन्दा पनि प्रदेशमै रहेर काम गर्ने चाहना राखेका छन् ।

सभापति पदका लागि वर्तमान सभापति डा. लामिछानेसँगै हालका प्रदेश प्रवक्ता उत्सव अर्याल पनि बलियो दावेदारका रूपमा उभिएका छन् । स्रोतका अनुसार, दुवै उम्मेदवारहरूले आफ्नो पक्षमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका छन्, जसले गर्दा अधिवेशनमा कडा प्रतिस्पर्धा हुने निश्चितप्रायः देखिन्छ ।

नेतृत्व चयनका लागि पार्टीले दुई चरणको निर्वाचन प्रक्रिया तय गरेको छ, जसमा पहिलो चरणमा सभापति र सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित सदस्यहरूबाट बाँकी पदाधिकारी छनोट गरिनेछ ।

सभापतिबाहेक अन्य पदाधिकारी पदका लागि पनि आकांक्षीहरूको लर्को छ । उपसभापतिका लागि प्रदेश स्वास्थ्य विभागका डा। रमेश ढकाल र मेनुका ठकुरी चर्चामा छन् भने महामन्त्रीमा वर्तमान महामन्त्री सुरेन्द्र भट्टले पुनः सोही पदमा दोहोरिने दाबी पेस गरेका छन् ।

विधानअनुसार ६५ सदस्यीय रहने बागमती प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, दुईजना सहमहामन्त्री (फरक लिङ्गको हुनुपर्ने), कोषाध्यक्ष र प्रवक्ता रहने व्यवस्था छ । रास्वपाको यो पहिलो प्रादेशिक अधिवेशनले बागमतीमा कस्तो नेतृत्व चयन गर्ला, त्यसले आगामी दिनमा पार्टीको प्रदेश गतिविधिमा कस्तो प्रभाव पार्ला भन्ने आम चासोको विषय बनेको छ ।


सम्बन्धित समाचार
भर्खरै