Logo

१९ फागुन,रौतहट । आम जनता पार्टी (आजपा) का समानुपातिक उम्मेदवारमाथि रौतहटमा आक्रमण भएको छ। पार्टीका अध्यक्ष प्रभु साह नेतृत्वको पार्टीबाट रौतहट–३ का समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि सोमबार साँझ आक्रमण भएको हो।

चुनावी प्रचारप्रसारका क्रममा गुजरा नगरपालिका–६ बेदौली गाउँमा विपक्षी दलका कार्यकर्ताले आक्रमण गरेको आरोप छ। आक्रमणबाट मन्सुरीको नाकको हड्डी भाँचिएको पारिवारिक स्रोतले जनाएको छ।

घाइते मन्सुरीलाई उपचारका लागि चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा लगिएको थियो। उपचारपछि उनलाई घर फर्काइएको बताइएको छ।

सोमबार साँझ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पार्टी अध्यक्ष प्रभु साहले गुजरा–६ बेदौलीमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका थिए। सोही क्रममा केही विपक्षी कार्यकर्ताले डिजे बजाउँदै कार्यक्रम बिथोल्न खोजेको आरोप लगाइएको छ। ती कार्यकर्तालाई सम्झाउन खोज्दा धक्का दिएको र एक अपरिचित युवकले टाढाबाट लौरो प्रहार गर्दा नाकमा लागेर घाइते भएको मन्सुरीले बताएका छन्।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अवस्था नियन्त्रणमा लिएको थियो। प्रहरी देख्नासाथ संलग्न व्यक्तिहरू फरार भएका जनाइएको छ। मन्सुरीका अनुसार आक्रमणमा जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय कार्यकर्ता संलग्न रहेका छन्।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट जिल्ला प्रहरी कार्यालय ले जनाएको छ।


सम्बन्धित समाचार