Logo

११ भदौ,काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापतिमा ईश्वरी देवी न्यौपानेले बुधबार पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेकी छन्।

सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आयोजित समारोहमा न्यौपानेलाई शपथ ग्रहण गराएका हुन्। शपथ पछि उनले तत्कालै पदभार पनि ग्रहण गरेकी हुन्।

पदभार ग्रहणपछिको संक्षिप्त मन्तव्यमा सभापति न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति प्रमुख रूपमा विधेयक र ऐन कानून निर्माण गर्ने समिति भएकाले आफूले गम्भीरतापूर्वक काम गर्ने बताइन्। उनले भनिन्, “म यसअघि पनि यसै समितिको सदस्यको हैसियतमा काम गरिरहेकी थिएँ। अब सभापति बनेपछि समितिमा रहेका विधेयकहरूलाई समन्वय गरेर सकेसम्म छिटो पारित गर्न म प्रयत्नशील हुनेछु।”

उपस्थित थुप्रै विशिष्ट व्यक्ति

शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री, कानून, न्याय तथा संसदीय मामिला मन्त्री, रक्षा मन्त्री, युवा तथा खेलकुद मन्त्री, विपक्षी दलका नेता, विभिन्न संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापति लगायत थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।सभापति चयनका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण, नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन्।


सम्बन्धित समाचार