Logo

१२ भदौ, काठमाडौँ । चाडपर्व सुरु भएसँगै अण्डाको खपत बढेपछि मूल्यमा वृद्धि भएको छ। उत्पादन घटेको र माग बढेको कारण उपभोक्ताले अब अघिल्ला भन्दा बढी मूल्य तिर्नुपर्ने भएको हो ।

नेपाल लेयर्स कुखुरा उत्पादक संघले विभिन्न फार्मको दररेटका आधारमा अण्डाको समर्थन मूल्य संशोधन गरेको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५४५ रुपैयाँ र मझौला अण्डाको ५३० रुपैयाँ कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा प्रतिगोटा अण्डाको मूल्य २३ रुपैयाँ पर्नेछ।

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छ। नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाबाट प्रतिगोटा १८.१६ रुपैयाँ प्राप्त गर्ने भएका छन्। लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले यस निर्णयबाट केही राहत महसुस गरेका छन्।

संघका अध्यक्ष पोखरेलका अनुसार यस वर्ष साउन महिनामा पनि अण्डाको माग घटेन। माग स्थिर रहेको र उत्पादन कम भएकाले मूल्य क्रमशः बढ्दै जाने सम्भावना रहेको उनले बताए। उनले हालका किसानहरू विगतमा भोगेको नोक्सानका कारण अझै संकटमा रहेको पनि बताए।

नेपाल अण्डा उत्पादक संघका पूर्व अध्यक्ष त्रिलोचन कँडेलका अनुसार विगतमा दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकोमा हाल दैनिक उत्पादन घटेर २२ लाखको हाराहारीमा पुगेको छ।

विशेष चाडपर्वको समयमा अण्डाको खपत बढ्ने भएकाले मूल्य अझै उच्च रहने सम्भावना देखिएको छ।


सम्बन्धित समाचार