Logo

१२ भदौ, काठमाडौं । राजधानीसहित देशभर मौसममा अप्रत्याशित बदलाव देखिएको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले गएरातिदेखि देशभरि नै लगातार वर्षा भइरहेको छ, जसले जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार, काठमाडौं उपत्यकामा बुधबार साँझ ६ बजेदेखि लगातार वर्षा भइरहेको छ। कहिले झरी, कहिले सिमसिम पानी परिरहेको छ। यस्तो लगातारको वर्षा करिब १५ घण्टादेखि जारी छ। महाशाखा रहेको विमानस्थल क्षेत्रमा त भारी वर्षा समेत भएको उनले जानकारी दिए ।

यसले गर्दा आज उपत्यकामा मौसम सफा हुने सम्भावना कम छ। दिनभर मौसम बदली रहने र वर्षा जारी रहने देखिन्छ। यद्यपि, विमानस्थलमा हुने उडानहरूमा भने अहिलेसम्म ठूलो समस्या नआएको बताइएको छ। तर, वर्षा बढेमा दृश्यता कम हुन सक्ने सम्भावना छ।

बंगालको खाडीबाट आएको वायुको प्रभाव

नेपालमा मनसुन सक्रिय बनाउनुमा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको मुख्य भूमिका रहेको मौसमविद्हरू बताउँछन्। यही हावाका कारण देशभर मौसम बदली भई वर्षा बढेको हो । मौसमविद् ढकालका अनुसार, आज दिनभर र राति पनि वर्षा जारी रहने सम्भावना छ। तर, शुक्रबार भने वर्षा केही कम हुन सक्छ। यसको अर्थ वर्षा पूर्ण रूपमा रोकिने होइन, तर आजको जति नै भारी वर्षा भने नहुन सक्ने उनको भनाइ छ।


सम्बन्धित समाचार