१२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्षमा उम्मेदवारी नदिन अप्रत्यक्ष रूपमा चेतावनी दिएका छन्।
उनले भण्डारीलाई अध्यक्ष पदमा उठ्दा जित्ने सम्भावना नरहेको र हारेपछि पार्टीको विरोधमा लागेमा भीम रावललाई झैँ कारबाहीको सामना गर्नुपर्ने बताएका हुन् । बुधबार काठमाडौं जिल्लाका महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलमा ओलीले भने, ‘उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न।’ उनले नेतृत्व लिनका लागि क्षमता र परिस्थितिसँग जुध्न सक्ने आँट आवश्यक पर्नेमा जोड दिए।
भीम रावलको उदाहरण
ओलीले भण्डारीलाई अध्यक्षमा हारेपछि पार्टीको विरोधमा लाग्न सक्ने र त्यसले पार्टीलाई अनुशासनको कारबाहीमा जान बाध्य पार्ने बताए। उनले भने, ‘उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ, हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ। त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ।
यो भनाइले एमालेभित्र पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमन र उनको भूमिकालाई लिएर चलिरहेको बहसलाई थप चर्काएको छ।















