१२ भदौ,पर्सागढी । सशस्त्र प्रहरीले बिन्दबास्नी कोइलाबार साझेदारी वन क्षेत्रको बडनिहारबाट तस्करीका लागि तयारी अवस्थामा राखिएको चार थान सालको गोलिया र चार थान साइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल बेस क्याम्प सोलकपुर बेलवाबाट खटिएको टोलीले सशस्त्र प्रहरी नायब निरीक्षक लोकबहादुर कार्कीको नेतृत्वमा गस्ती गर्ने क्रममा उक्त सामग्री फेला पारेको हो। गस्ती टोलीले साइकलमा लोड गरिएको अवस्थामा काठ भेटेपछि थप सहयोगको लागि सबडिभिजन वन कार्यालय सबैया र मिलनचोक प्रहरीसँग समन्वय गरेर नियन्त्रणमा लिएको हो।
३५ क्युफिट काठ रहेको र यसको अनुमानित मूल्य १ लाख रुपैयाँ बराबरको रहेको सबडिभिजन वन कार्यालय सवैयाका रेन्जर भूपाल रोकायाले जानकारी दिए। बरामद सामग्री सोही वन कार्यालयमा बुझाइएको छ।
चाडपर्वसँगै तस्करी बढ्दो
स्थानीयवासीहरूका अनुसार, चाडपर्व नजिकिएसँगै बिन्दबास्नी कोइलाबार साझेदारी वन क्षेत्र र सवैया साझेदारी वन क्षेत्रबाट काठ तस्करीको गतिविधि तीव्र हुँदै गएको छ। तस्करहरूले साइकल जस्ता साधन प्रयोग गरेर रातारात काठ ढुवानी गर्ने गरेको पाइएको छ।
सुरक्षाको दृष्टिकोणले सशस्त्र प्रहरी बलले गस्ती कडा पारेको र वन क्षेत्रमा निगरानी बढाइएको जनाएको छ।















