Logo

१२ भदौ,जनकपुर । मधेश प्रदेशसभाको बिहीबारको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन्। उनीहरूले अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गर्दै सदन चल्न नदिएको हो। जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअषिश यादवले सरकारले संसद्लाई छल्ने प्रयास गरेको आरोप लगाउँदै अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने चेतावनी दिएका छन्।

विपक्षीहरूका अनुसार, सरकारले संसद्मा प्रस्तुत गरेको ४६१ पृष्ठको ’रेडबुक’ बजेट दस्तावेजलाई पछि ३०५ पृष्ठमा झारेर गोप्य रूपमा पारित गरिएको छ। यसै विषयमा गम्भीर असन्तुष्टि जनाउँदै अर्थमन्त्रीको राजीनामा माग गरिएको हो।

विहीबार बिहान बसेको सर्वदलीय बैठकलाई पनि विपक्षी दलहरूले बहिष्कार गरेका थिए। बैठकमा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रपालगायतका प्रमुख विपक्षी दलहरूको सहभागिता रहेन।
सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालनका लागि आग्रह गरे पनि विपक्षी सांसदहरूले नाराबाजी र अवरोध जारी राखेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रदेशसभामा बजेट पारित गर्ने तरिका र प्रक्रियाबारे उठेका प्रश्नहरूलाई लिएर मधेशको राजनीतिक तापक्रम चुलिएको छ। विपक्षी दलहरू भने स्पष्ट रुपमा अर्थमन्त्रीको पदबाट राजीनामा वा बर्खास्त नै चाहन्छन्।


सम्बन्धित समाचार