Logo

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै रोजगारीको अवसर सिर्जना गरेर युवा पलायन रोक्नु आजको कांग्रेसको मुख्य सपना हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा विकाससँगै नागरिकका आकांक्षाहरू बढेकाले गुणस्तरीय रोजगारी सिर्जनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए।

थापाले भने, “देशभरी पूर्वाधार बनेको छ, विकास भएको छ। तर त्यहीसँगै नागरिकको आकांक्षा पनि बढेको छ, जुन स्वाभाविक हो। अब हामीले नेपालमै बस्न सक्ने वातावरण बनाउनु पर्छ।”

“५ लाख रोजगारी आवश्यक, तर ५० हजारले मात्र गुणस्तरको काम पाएका छन्”

कोरियामा एक नेपाली युवाले महिनामा दुई लाख रुपैयाँसम्म बचत गरिरहेको उदाहरण दिँदै थापाले प्रश्न गरे,
“नेपालमा कति युवाले दुई लाख, एक लाख कमाउने रोजगारी पाएका छन्? अहिले गुणस्तरको काम पाउने संख्या ५० हजारभन्दा बढी छैन। हाम्रो लक्ष्य वर्षेनि पाँच लाख रोजगारी सिर्जना गर्ने हुनुपर्छ।”

उनले सामान्य काम मात्र होइन, राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्ने बताए।
“आजको कांग्रेसले देख्ने सपना भनेको नेपालका युवालाई यही देशमै बसेर राम्रो आम्दानी हुने अवस्था बनाउनु हो,” उनले स्पष्ट पारे।

सरकारमा बस्नु गौण, रोजगारी सिर्जना मुख्य मुद्दा

“सरकारमा बस्ने, टिक्ने वा सरकार रहने नरहने भन्दा मुख्य कुरा भनेको अब नेपालभित्रै सपना देख्ने र त्यसलाई पूरा गर्ने क्षमता निर्माण गर्नु हो,” थापाले भने।

उनले बीपी कोइरालाको दृष्टिकोण उद्धृत गर्दै भने, “बीपीले नेपालीलाई गरिबीबाट मुक्त गर्ने सपना देखे। आज हामीले युवालाई देशमै रोक्ने सपना देख्नुपर्छ।”


सम्बन्धित समाचार