२२ भदौ, काभ्रेपलाञ्चोक। काभ्रेको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा पहिलो पटक हेलि एम्बुलेन्सबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ।
सुत्केरी हुन नसकेपछि गम्भीर अवस्थामा रहेकी १९ वर्षीया आयुष्मा भ्लोनको आइतबार उद्धार गरिएको हो । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार, शनिबार बिहान १० बजेदेखि सुत्केरी व्यथा लागेकी भ्लोनलाई तालढुङ्गा स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तर, लामो व्यथा र उच्च रक्तचापका कारण उनको अवस्था बिग्रँदै गएपछि स्वास्थ्यकर्मीहरूले त्यहाँ सुत्केरी गराउन नसकिने निष्कर्ष निकालेका थिए ।
अहिले वर्षातको कारण गाउँपालिकाका सडकहरू अवरुद्ध भएकाले तत्काल अस्पताल पुर्याउन सम्भव थिएन। यसपछि सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरको व्यवस्था गरी उनको उद्धार गरिएको हो । यसअघि खानीखोला गाउँपालिका यो कार्यक्रममा समावेश थिएन, तर भदौ १२ गतेबाट मात्रै समावेश भएको थियो ।
उद्धार गरिएकी भ्लोनलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा पुर्याइएको छ। गाउँपालिका अध्यक्ष थिङका अनुसार, सुत्केरी भए पनि आमा र शिशु दुवैको अहिले आइसियुमा उपचार भइरहेको छ। यता, काभ्रेकै महाभारत गाउँपालिकामा भने अहिलेसम्म १६ जना गर्भवतीको उद्धार भइसकेको छ।

















