२२ भदौ,काठमाडौं । सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जालहरू निष्क्रिय गराएको चार दिन बितिसक्दा पनि प्रमुख अन्तर्राष्ट्रिय सञ्जालहरूले औपचारिक रूपमा कुनै चासो नदेखाएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
मन्त्रालय स्रोतका अनुसार हालसम्म लिंक्डइन, टेलिग्राम र स्न्यापच्याटले मात्र सूचीकरण प्रक्रिप्रति चासो देखाएका छन्। फेसबुक सञ्चालक कम्पनी मेटा, युट्युब (गुगल), एक्स (ट्विटर) लगायतका ठूला सञ्जालहरूले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
यद्यपि, संचार मन्त्रालयको दाबी अनुसार, मेटाका एक प्रतिनिधि नेपालमा हुँदा सूचीकरणमा चासो देखाए पनि सिंगापुर फर्किएपछि “नेपालको प्रक्रिया झन्झटिलो रहेको“ भन्दै सूचीकरण सम्भव नभएको जानकारी दिएको थियो।
“हामीले पहिले पनि मेटालाई सूचीकरणका लागि आग्रह गरेका थियौँ,“ मन्त्रालयका एक अधिकारीले बाह्रखरीसँग भने, “यहाँ हुँदा सकारात्मक संकेत दिएका थिए तर फर्किएपछि प्रक्रिया झन्झटिलो भन्दै पछि हटे।“
मेटाको तर्फबाट निष्क्रियता लागू भएपछि आएको इमेल एक कर्मचारीको नामबाट आएको पुष्टि भएको छ, तर त्यसबाहेक अन्य औपचारिक सोधखोज नभएको मन्त्रालयको भनाइ छ।
“युट्युबबाट पनि कुनै प्रतिक्रिया आएको छैन,“ ती अधिकारीले थपे, “हामीले पहिल्यै सूचीकरणका लागि आवश्यक प्रक्रिया जानकारी गराइसकेका थियौँ, तर पुनः सोधिएको केही छैन।“
सरकारले गत साता नेपालमा सञ्चालनमा रहेका तर सूचीकरण नगरेका सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने निर्णय गरेपछि विभिन्न सञ्जालमा पहुँच अवरुद्ध गरिएको थियो। यस निर्णयले प्रयोगकर्तामाझ केही असहजता ल्याए पनि सरकार सामाजिक सञ्जालको नियमन र पारदर्शिता कायम गर्न कटिबद्ध रहेको बताउँदै आएको छ।
















