Logo

२४ भदौ, काठमाडौँ । जेनजी आन्दोलनको प्रभाव आज ललितपुरमा अत्यधिक चर्किएको छ। बिहानैदेखि विभिन्न ठाउँमा प्रदर्शनहरू तीव्र बनेका छन् भने सरकारी तथा राजनीतिक व्यक्तित्वका निवास र प्रहरी चौकीहरू आक्रमणको निशानामा परेका छन्।

प्रदर्शनकारीको एक समूहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा तोडफोड गरेका छन्। समूहले सुरक्षाकर्मीको उपस्थितिमा नै गेट अगाडि उभिएर ढुंगामुढा गरेको बताइएको छ। घटनापछि सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयासरत रहेको बताइएको छ ।

यसअघि, प्रदर्शनकारीले प्रचण्ड निवास नजिकै रहेको प्रहरी बिटमा समेत आगजनी गरेर अघि बढेका थिए ।

ललितपुरकै सुनाकोठीको ढोलाहिटीमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा पनि आगजनी भएको छ। यसबाहेक हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगो लगाइएको पुष्टि भएको छ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार स्थिति अत्यन्त संवेदनशील बनेको छ। “बिहानैदेखि ललितपुर अशान्त छ। गाउँ-टोलहरू र भित्री सडकहरूमा समेत बन्दको अवस्था छ,” उनले बताए।

प्रदर्शनको स्वरूप दिनप्रतिदिन आक्रामक बन्दै गएको देखिँदा सुरक्षा व्यवस्था माथि प्रश्न उठ्न थालेको छ। प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

सुरक्षा निकायहरू प्रदर्शन शान्त पार्ने प्रयासमा जुटेका छन्, तर प्रदर्शनकारीहरू संगठित र आक्रोशित देखिएका छन्। राजनीतिक दलहरूले समेत अझैसम्म कुनै साझा पहल नगरेको भन्दै आलोचना भइरहेको छ।

युवाहरूको नेतृत्वमा भइरहेको यो आन्दोलनले देशभर ध्यान तानेको छ। उनीहरू रोजगार, शिक्षा, अवसर र सुशासनको माग गर्दै सडकमा उत्रिएका हुन्। यता विपक्षी दलहरूले आन्दोलनप्रति सहानुभूति जनाउँदै सरकारसँग संवाद र निष्पक्ष छानबिनको माग गरेका छन्।

अहिलेसम्म क्षति र घाइतेको आधिकारिक तथ्यांक सार्वजनिक भइसकेको छैन। तर घटनाक्रमले स्थिति थप जटिल र संवेदनशील बन्ने संकेत दिएको छ।


सम्बन्धित समाचार
भर्खरै