७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी–मरिण र भेरी–बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने चेतावनी दिएका छन् ।
दुवै आयोजनाको निर्माणमा अस्वाभाविक ढिलाइ देखिएपछि उनले निर्माण व्यवसायीसँगको छलफलमा ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारेका हुन् ।
‘राज्यको अर्बौं लगानी खेर जाँदैछ’
आयोजनाको अवस्था देखेर आक्रोशित बनेका मन्त्री घिसिङले भने, “एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने, आयोजना त्यस्तो वातावरण दिइराख्ने— यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ?” उनले आयोजनामा राज्यको अर्बौं रुपैयाँ लगानी भइसकेको र ढिलाइले प्रतिफल गुमिरहेको भन्दै सबै पक्षलाई गम्भीर हुन आग्रह गरे। तराई क्षेत्रमा सिँचाइ सुविधा पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गर्ने यी आयोजनाको काम अलपत्र परेकोमा उनले गम्भीर चिन्ता व्यक्त गरे।
सुरुङ तयार, तर बाँध र विद्युतगृहको काम ठप्प
मन्त्री घिसिङले दुवै आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध, विद्युतगृह लगायतका मुख्य संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेको बताए। भेरी–बबई को सुरुङ २०७७ भदौमा नै तयार भएको थियो तर बाँध तथा विद्युतगृह निर्माणको भौतिक प्रगति ५७ प्रतिशत मात्र छ। त्यस्तै, सुनकोशी–मरिण मा भने ठेक्का अवधि ६० प्रतिशत सकिँदा पनि निर्माणको प्रगति जम्मा १० प्रतिशत मात्रै छ।
‘काम गर्ने नियत देखिँदैन’ मन्त्री घिसिङले थपे, ‘त्यसर्थ म्याद थप्नुको औचित्य छैन। सबै ठेक्का तोडी नयाँ ढङ्गले अगाडि बढौँ।’ उनको यो कदमलाई वर्षौंदेखि अलपत्र रहेका राष्ट्रिय गौरवका आयोजनालाई गति दिन खोजिएको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।















