७ असोज,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सन्जिव यादवले मंगलबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। गाउँपालिका कार्यालय पुगेपछि उनलाई गाउँपालिका अध्यक्ष जसवन्त यादव, उपाध्यक्ष शर्मिला बिष्ट लगायतका जनप्रतिनिधिहरूले फूलमाला लगाएर स्वागत गरेका थिए।
कार्यभार सम्हालेपछि आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनले गाउँपालिकाको सेवा प्रवाहमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे। उनले भने, “हाम्रो प्राथमिकता सेवाग्राहीले सजिलो, सहज र छिटोछरितो सेवा पाउनुपर्छ भन्ने हो। नयाँ प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर गाउँपालिकालाई पारदर्शी र जनमुखी बनाउन हामी प्रतिबद्ध छौँ।” उनले विकास निर्माणका कामलाई अगाडि बढाउन सबै कर्मचारी र जनप्रतिनिधि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।
प्रमुख प्रशासकीय अधिकृत यादवले आफूलाई गरिएको स्वागतका लागि धन्यवाद दिँदै स्थानीय सरकारको कामलाई जनअपेक्षाअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “गाउँपालिकाका नीति, कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने क्रममा मेरो ध्यान पारदर्शिता, समयमै सेवा प्रवाह र विकासलाई गति दिनेमा रहनेछ। जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य नै सफलताको आधार हो।”
स्वागत कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, र विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।















