Logo

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा देउवाले हालै बनाएको राहदानी विषयमा परराष्ट्र मन्त्रालयले आन्तरिक छानबिन सुरु गरेको छ। असोज ३ गते बिदाको दिन राहदानी बनेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले सो प्रकरणलाई गम्भीर रूपमा लिँदै सोधपुछ तथा प्रारम्भिक अनुसन्धान थालेको हो।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, कानुनअनुसार आवश्यकता अनुसार सबैले राहदानी बनाउन पाउने व्यवस्था भए पनि सार्वजनिक बिदाको दिन राहदानी विभागबाट पासपोर्ट बनेको घटना अस्वाभाविक र शङ्कास्पद देखिएको छ। “अस्वस्थ्य वा हिँडडुल गर्न असमर्थ व्यक्तिका लागि विशेष प्रक्रिया अवलम्बन गर्न सकिन्छ, तर यस प्रकरणमा सो प्रक्रियाको औपचारिकता देखिएको छैन। त्यसैले छानबिन आवश्यक भएको हो,” उनले बताए।

देउवा दम्पती असोज २४ गते जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भई सैनिक अस्पतालमा भर्ना भएका थिए। सोही क्रममा राहदानी विभागका कर्मचारीमार्फत उनीहरूको राहदानी बनेको तथ्य सार्वजनिक भएपछि प्रश्न उठेको हो।

विश्वसनीय स्रोतका अनुसार, दुवैजनाले उपचारका लागि थाइल्यान्ड जाने तयारी गरेका थिए। तर राहदानी विवाद सार्वजनिक भएपछि उक्त कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएको छ।

यस प्रकरणप्रति गृहमन्त्री ओमप्रकाश अर्यालले समेत चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालयलाई छानबिन गर्न निर्देशन दिएका छन्। मन्त्रालयका प्रवक्ताले पनि घटना ‘प्रारम्भिक परीक्षणको चरणमा रहेको’ जनाउँदै छानबिन निष्कर्षमा पुग्नेबित्तिकै सार्वजनिक गरिने स्पष्ट पारेका छन्।


सम्बन्धित समाचार