Logo

११ असोज, काठमाडौं । वामपन्थी शक्तिहरूबीच एकता तथा मोर्चा निर्माणको प्रयासलाई तीव्र बनाउँदै नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग संवाद थालेको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपाका अध्यक्ष अशोक राईसँग हालै भेटवार्ता गरेका छन्। उक्त अनौपचारिक छलफलमा उपाध्यक्ष बेदुराम भुसाल र प्रकाश ज्वालासमेत सहभागी थिए।

पार्टीका एक नेताका अनुसार यो भेट एकीकृत समाजवादीको एकता अभियानकै निरन्तरताको रुपमा भएको हो। उनका अनुसार, “एकीकृत समाजवादी र जसपा मात्र होइन, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग पनि संवाद भइरहेको छ।”

भेटमा जसपा अध्यक्ष अशोक राईले आफूहरू एमालेको नाम र झण्डाबाट टाढा रहेकाले एकीकृत समाजवादीसँग सैद्धान्तिक असहमति रहेको बताए। यद्यपि कार्यगत एकता वा मोर्चा बनाएर अगाडि बढ्न सकिने सम्भावनालाई भने खुला राखेका छन्।

एकता प्रयासका लागि वार्ता टोली गठन

नेकपा एकीकृत समाजवादीले वामपन्थी तथा समाजवादी शक्तीसँगको सम्भावित एकता वा मोर्चा निर्माणका लागि वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ। टोलीमा प्रमेश हमाल र प्रकाश ज्वालासमेत सदस्य रहेका छन्।

उपाध्यक्ष ज्वालाका अनुसार, टोलीले एकताको सैद्धान्तिक आधार तय गर्दै संवादलाई औपचारिक रूप दिन तयारी गरिरहेको छ। उनका अनुसार, एकताको आधारमा पार्टीको नाम, नेपाली क्रान्तिको अवस्था, तथा प्रमुख सामाजिक अन्तर्विरोधजस्ता विषय समावेश छन्।

सैद्धान्तिक सहमति र असहमति

एकीकृत समाजवादी, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, र नेपाल समाजवादी पार्टीबीच मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, जनवादी केन्द्रीयता संगठनात्मक सिद्धान्त रहने, र वैज्ञानिक समाजवाद रणनीतिक लक्ष्य हुने विषयमा सहमति बनेको छ।

तर, जनता समाजवादी पार्टी (अशोक राई पक्ष) ले यी सैद्धान्तिक विषयहरूमा स्पष्ट असहमति जनाएको छ। जसले गर्दा तत्कालीन पार्टी एकता भन्दा कार्यगत मोर्चा निर्माणको सम्भावना बढी देखिएको छ।


सम्बन्धित समाचार