११ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र नेकपा (एमाले) दुवै डुबाएको टिप्पणी गर्दै ओलीलाई सार्वजनिक माफी मागेर राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन्।
सर्लाहीको लालबन्दीमा आयोजित आजपा मधेस प्रदेश कमिटीको बैठक तथा दशैं, दीपावली र छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले युवाहरूप्रतिको दमन र राजनीतिक अडानका कारण देशमा ठूलो क्षति पुगेको आरोप लगाए। उनले भने, “केपी ओलीको हठ, घमण्ड र अहंकारले अहिले मुलुक र एमालेलाई ठुलो क्षति पुर्याएको छ। ओलीकै हठ, घमण्ड र अहंकारले मुलुक जलेको छ।”
साहले थपे — “गुण्डुमा गुण्डा भेला गर्नुको साटो सार्वजनिक रूपमा माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस्, त्यसमै एमालेको भलो छ।” उनले एमालेका वृद्ध नेताहरूलाई अब स्थायी रूपमा राजनीति छोड्नुपर्ने र नेकपा–एमालेले ओलीलाई अगाडि नलगाउने आग्रह पनि राखे।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवा र उनका दम्पत्तिलाई लिएर ओली–देउवा सम्बन्धी टिप्पणी गर्दै साहले देउवा दम्पत्तिले देशको माया नगरेको अड्कलबाजी राखे र नयाँ पासपोर्ट बनाएको विषयमा प्रश्न उठाए। उनले भ्रष्टाचार र नेताहरूको अवैध सम्पत्तिविरुद्ध तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारलाई दबाव दिनु पर्ने पनि माग गरे।
साहले हालको सरकारमा जेनजी आन्दोलनका सहिद परिवारका प्रतिनिधित्व आवश्यक रहेको र देशमा लोकप्रियतावाद र विदेशी प्रभावबाट सावधान हुनुपर्ने बताए। उनले चेतावनी दिए — “अर्को जेलेन्स्की जन्माएर देशको अस्तित्व समाप्त पार्ने षड्यन्त्र हुनसक्छ, हामी चनाखो हुनैपर्छ।”
प्रभु साहले वर्तमान संविधान र व्यवस्थाले समस्या नहल्याउने भन्दै अन्तरिम सरकार र अन्तरिम संविधानबाटै निकास खोज्नुपर्ने धारणा राखे। उनले भ्रष्ट नेताहरूले विदेशमा सम्पत्ति लैजाने कार्यविरुद्ध कठोर कदम चाल्नुपर्ने देखिएको बताए र जनआन्दोलनको शक्ति जनतामा रहेको भन्दै भविष्यमा जनसंघर्षमा पनि सम्भावना रहने संकेत गरे।
साहले नेपाली सेनाको सक्रियता र राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै मन्त्रालय स्तरमा सेनाको केन्द्रित व्यवहार राम्रो नभएको टिप्पणी पनि गरे। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोध गर्दै जनविद्रोहलाई कलंकित नगर्न चेतावनी दिएका छन्।
कार्यक्रममा उपस्थित नेताहरू र कार्यकर्तालाई साहले आगामी दिनमा राजनीतिक घटनाक्रमप्रति सचेत र तयारी अवस्थामा रहन निर्देशन दिए।

















