११ असोज, काठमाडौं । जेनजी समूहको आन्दोलनपछिको परिस्थितिलाई ध्यानमा राख्दै नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको पहलमा बैठक गुण्डुस्थित निजी निवासमा दिउँसो १ बजेका लागि बोलाइएको हो।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, जेनजी आन्दोलनपछि पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमहरूबारे निर्णय हुने जानकारी दिए।
जेनजी आन्दोलनले मुलुकमा देखिएको युवा असन्तोष, राजनीतिक नेतृत्वमाथिको अविश्वास र नयाँ शक्ति उदयको सन्देश दिइरहेको बेला एमाले सचिवालयको यो बैठक विशेष रूपमा अर्थपूर्ण मानिएको छ। बैठकमा आन्दोलनप्रति पार्टीको धारणा, सरकारप्रतिको रणनीति र भावी राजनीतिक मोर्चाबन्दीसमेत छलफल हुने अनुमान गरिएको छ।
पार्टी भित्र र बाहिर चुलिंदो आलोचना तथा नेतृत्वप्रतिको असन्तोषका बीच एमालेले संगठन सुदृढीकरणमा कसरी अघि बढ्ने भन्ने विषय पनि सचिवालयको प्राथमिक एजेन्डामा रहेको छ।
बैठकपछि पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीसमेत गरेको छ।

















