३० असोज,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई सांसद विकास कोषको रकम दुरुपयोग गरेको अभियोगमा पुनः पक्राउ गरेको छ। आयोगले आजै विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ।
जनता समाजवादी पार्टी (जसपा)का नेता तथा महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद सिंह पूर्व आन्तरिक मामिलासम्बन्धी गृहराज्यमन्त्रीसमेत हुन्। उनी यसअघि पनि अख्तियारको नियन्त्रणमा परेका थिए।
गत जेठ २९ गते आयोगको टोलीले उनलाई काठमाडौँको अनामनगरबाट पक्राउ गरेको थियो। सो समय उनलाई बयान लिएपछि तारेखमा रिहा गरिएको थियो। तर अनुसन्धानको क्रममा पर्याप्त प्रमाण भेटिएपछि अख्तियारले आज पुनः उनलाई नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार सिंहले सांसद विकास कोषको रकम नक्कली उपभोक्ता समिति बनाई खर्च गरेको र उक्त रकमबाट करिब ३७ प्रतिशत कमिसन आफ्नै बैंक खातामा लिएको प्रमाण फेला परेको छ। अनुसन्धानकै क्रममा गत असोज १२ गते सिंहका निजी सचिव विनोद कुमार लाल कायस्थ पनि अख्तियारको नियन्त्रणमा परेका थिए।
अख्तियारले अहिले सांसद सिंह, उनका निजी सचिव कायस्थसहित नक्कली उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्न विशेष अदालतमा प्रक्रिया अघि बढाएको छ।
अख्तियारका एक उच्च अधिकारीका अनुसार, “सांसद सिंहसँग संलग्न अन्य व्यक्तिहरूले सरकारी रकमको ठूलो दुरुपयोग गरेका छन्। मुद्दा दायर भएपछि कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइनेछ।”
सरकारी स्रोतको दुरुपयोग र सांसद विकास कोषमा व्यापक अनियमितता देखिएको यस घटनाले संसदमा समेत चासोको विषय बन्ने देखिएको छ।

















