३० असोज,वीरगञ्ज । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएका विभिन्न सामान तथा सवारीसाधन सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
बुधवार सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका–१४, गण्डक चोकबाट भारतबाट ल्याइएको सामानसहितको एक मोटरसाइकल बरामद गरेको हो।
बीआर २२ एन १०८० नम्बरको मोटरसाइकलसहित भन्सार छली गरी ल्याइएको रु २ लाख ९५ हजार १ सय ४५ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।
उनका अनुसार चेकिङका क्रममा ती सामान तथा सवारी साधन छाडेर चालक भाग्न सफल भएको थियो। बरामद सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए।
त्यसैगरी, सोही गण अन्तर्गतको बोर्डर आउट पोस्ट (बीओपी) अमरपट्टिबाट खटिएको अर्को टोलीले पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट भन्सार छली गरी ल्याइएको रु २० हजार मूल्य बराबरको कम्प्युटर मोनिटर पनि नियन्त्रणमा लिएको छ।
सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा भन्सार छलि तथा अवैध सामान ओसारपसार रोक्न नियमित चेकिङ तथा निगरानीलाई थप कडा बनाएको जनाएको छ।


















