३ कात्तिक,वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू ओषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका–५ का १९ वर्षीय पुष्पेन्द्र पाण्डे र भारत बिहार राज्य रक्सौलका १९ वर्षीय सचिन कुमार सिंह रहेका छन्।
आइतबार राति वीरगञ्जबाट काठमाडौं जाँदै गरेको सार्वजनिक रात्रिबसलाई प्रहरीले वीरगन्ज–१४ गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो। सो क्रममा उक्त बसमा सवार पाण्डे र सिंहको साथमा रहेको कालो रंगको ब्यागबाट २३ हजार ८८० पिस ट्रामाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार बरामद गरिएको ट्रामाडोल नेपालमा प्रतिबन्धित लागू ओषध हो। पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रहरीले यस घटनालाई ठूलो लागू ओषध तस्करी गिरोहसँग सम्बन्धित हुन सक्ने भन्दै अनुसन्धानलाई थप व्यापक बनाएको जनाएको छ।


















