४ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा प्रमुख सात राजनीतिक दलहरूसँग संवादको पहल थालेकी छन्। भदौ २७ गते पदभार सम्हालेयता प्रधानमन्त्री कार्कीको यो पहिलो औपचारिक राजनीतिक संवाद हो।
सरकारी निवास बालुवाटारमा मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छलफलमा नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने निश्चित भएको छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दुई पटक राजनीतिक दलहरूसँग छलफल गरिसकेका छन्। तर, प्रधानमन्त्री आफैंले प्रत्यक्ष संवादको पहल गरेको यो पहिलोपटक हो।
यसैबीच, नेपाली कांग्रेसले प्रधानमन्त्री कार्कीले आयोजना गरेको छलफलमा निर्वाचनको सुरक्षाका विषयमा गम्भीर ध्यानाकर्षण गराउने तयारी गरेको छ।
कांग्रेस नेता श्याम घिमिरेका अनुसार प्रतिनिधिसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्ने मागसहित पार्टीले सुरक्षा प्रत्याभूतिको स्पष्ट योजना माग गर्नेछ।
उनका अनुसार गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको हतियार लुटपाट, आगजनी र तोडफोडका घटनामा संलग्नलाई अझै कारबाहीको दायरामा ल्याउन नसकिएको र फरार कैदीहरूलाई नियन्त्रणमा लिन नसकिएको अवस्था निर्वाचनका लागि चिन्ताजनक भएको कांग्रेसको धारणा छ।
प्रधानमन्त्री कार्कीको संवादले आगामी निर्वाचनको वातावरण निर्माणमा कस्तो प्रभाव पार्नेछ भन्ने चासो राजनीतिक वृत्तमा बढ्दै गएको छ।

















