५ कात्तिक,काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सरकारले योजनाबद्ध रूपमा कदम चाल्न सक्ने आशंका व्यक्त गरेका छन् । भक्तपुर बालकोटस्थित जलेर ध्वस्त भएको घरको अवलोकनका क्रममा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूविरुद्ध व्यक्तिगत दुश्मनी राखेको गम्भीर आरोप लगाए ।
ओलीले गृहमन्त्रीका पछिल्ला अभिव्यक्तिले सरकारको नियत स्पष्ट भएको बताए । “गृहमन्त्रीका अभिव्यक्तिमा सरकारको उद्देश्य र मनसाय देखिन्छ, ममाथि व्यक्तिगत दुश्मनी देखिन्छ,” उनले भने, “मैले उहाँहरूको सीमा मिचेको छैन, घर कहाँ हो थाहा पनि छैन, केही गरेको छैन, तर दुश्मनी चर्को देखिन्छ ।”
गृहमन्त्री अर्यालले ओलीको भदौ २३–२४ को घटनाबारे बयान दिन अस्वीकार गर्ने अभिव्यक्तिलाई लिएर प्रतिक्रिया दिँदै “कानूनभन्दा माथि कोही छैन” भनेका थिए । यसलाई लिएर ओलीले आफूलाई पक्रने सरकारी योजना भइरहेको शंका व्यक्त गरे ।
“जेनजी भनिएकाहरूलाई बोलाएर तिमीहरू हामीलाई दबाब देऊ भनेर सरकारका मान्छेले भनिरहेका छन्,” ओलीले आरोप लगाए, “दबाबमा पर्यौं भने फलनालाई गिरफ्तार गर्छौं भनेर सिकाएर पठाइएको समेत थाहा भएको छ ।”
पूर्वप्रधानमन्त्री ओलीले एमाले कुनै पनि दबाब वा धाकधम्कीबाट डराउने पार्टी नभएको दाबी गरे । “अचानक पलाएको सरकारका धाक धम्कीसँग एमाले डराउँदैन,” उनले भने, “सरकारका गलत गतिविधिको विरोध गर्नका लागि एमाले अझै सक्रिय र सशक्त रूपमा उभिन्छ ।”
















