Logo

५ कात्तिक,वीरगञ्ज । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकामा लामो समयदेखि देखिँदै आएका आर्थिक तथा प्रशासनिक अनियमितता विरुद्ध प्रमुख विपक्षी दल नेकपा (एमाले) खुलेर अघि आएको छ। नेकपा (एमाले) पकहाँ मैनपुर गाउँपालिका कमिटीले ६ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै गाउँपालिकाको गतिविधिमा तत्काल सुधार र पारदर्शिता ल्याउन माग गरेको हो।

एमाले गाउँपालिका अध्यक्ष हामिद मियाँको नेतृत्वमा गएको टोलीले आर्थिक वर्ष २०७९ देखि २०८२ सम्मको आम्दानी–खर्च विवरण, रेडबुक, स्थायी तथा अस्थायी कर्मचारी विवरण, सवारी साधनको अवस्था, ठेक्का प्रक्रिया र योजनाको अवस्था सम्बन्धी विवरण पटक–पटक माग गर्दा पनि नपाएको जनाउँदै ती विवरण सार्वजनिक गरिनुपर्ने माग राखेको छ।

ज्ञापनपत्र बुझाउने क्रममा एमाले उपाध्यक्ष नवल पटेल, सचिव सन्तोष चौरसिया, पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसिया, एमाले नेता प्रह्लाद गिरी लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष हामिद मियाँले स्थानीय सरकारमा व्यापक अनियमितता भएको आरोप लगाउँदै भने, “विकासका लागि आएको जनताको पैसा केही व्यक्तिको स्वार्थमा खर्च भइरहेको छ, त्यसको सार्वजनिक परीक्षण गरिनु आवश्यक छ।” उनले स्थानीय प्रशासनसँग तत्काल हस्तक्षेपको माग गर्दै यदि समयमै सूचना सार्वजनिक नगरिए गाउँपालिकाविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिए।


सम्बन्धित समाचार
भर्खरै