७ कात्तिक, काठमाडौं। नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युजमेसिन्सले अमेरिकी प्रतिष्ठित नास्डाक पुँजीबजारमा स्टक कारोबार सुरु गरेको छ।
कम्पनीले दुई वर्षअघि गरेको मर्जर पछि ‘फ्युज’ नामबाट हिजोदेखि धितोपत्र कारोबार गर्न सफल भएको हो। संस्थापक डा. मास्केले विश्वकै प्रमुख वित्तीय बजारमा कम्पनीको सूचीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
हाल फ्युजमेसिन्समा ३५० कर्मचारी कार्यरत छन् भने, उनीहरूमध्ये २६० जना नेपालमा कार्यरत छन्। नास्डाकले पनि विज्ञप्ति जारी गर्दै CSLM एक्विजेसन कम्पनी र फ्युजमेसिन्सबीच साझेदारी प्रक्रिया पूरा भएको र हिजोदेखि स्टक कारोबार सुरु भएको जानकारी दिएको छ।
यस उपलब्धिसँगै नेपाली उद्यमीले स्थापना गरेको कम्पनीले वैश्विक बजारमा प्रवेश गरेको छ र लगानीकर्ताका लागि नयाँ अवसर सिर्जना गरेको छ।
















