Logo

७ कात्तिक,रौतहट । मधेश प्रदेश सरकार विस्तारबारे सत्तापक्षका दलहरूको बैठक रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ।

गोल्डेन बैंक्वेटमा शुक्रबार बिहान ११ बजेदेखि बसेको बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेता सहभागी भएका थिए। बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको कार्यक्षेत्र (टिओआर) र विश्वासको मतका तयारीलगायत विषयमा विस्तृत छलफल भएको नेकपा (माओवादी केन्द्र) का नेता समिर भट्टराईले जानकारी दिए।

उनका अनुसार छठ पर्वका कारण विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि धकेलिएको भए पनि, बाहिर हल्ला भएजस्तो सरकार अस्थिर हुने अवस्था नरहेको स्पष्ट पारे।त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री कनिश पटेलले मन्त्रालय भागबण्डा अझ टुंगो नलागेको र विश्वासको मतपछि टुंगो लाग्ने बताए।

गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए। असोज ३० गते उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। त्यसयता जनमत पार्टीका नेता महेशप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का नेता कनिश पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरिएको भए पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।


सम्बन्धित समाचार
भर्खरै