८ कात्तिक,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार चारै सुरक्षा निकायका प्रमुखहरूसँग वर्तमान सुरक्षा अवस्थाबारे उच्चस्तरीय छलफल गरेकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता थियो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार झण्डै दुई घण्टासम्म चलेको उक्त बैठकमा देशको हालको सुरक्षा अवस्थाको विस्तृत विश्लेषण प्रस्तुत गरिएको थियो। सुरक्षा प्रमुखहरूले आ–आफ्नो क्षेत्रका चुनौती र सुरक्षासम्बन्धी मूल्याङ्कनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
बैठकमा सम्भावित सुरक्षा चुनौतीहरूका विषयमा समेत विस्तृत छलफल गरिएको र आवश्यक कदम चाल्ने सहमति गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकपछि प्रधानमन्त्री कार्कीले वर्तमान सुरक्षा अवस्थालाई संवेदनशील रुपमा लिनुका साथै सुरक्षामा कुनै कमजोरी नआओस् भन्ने उद्देश्यले सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन्।
















