Logo

८ कात्तिक,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सम्भावित प्रदर्शनकारी समूहहरूलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विभिन्न समूहले प्रदर्शनको तयारी गरिरहेको सूचना प्राप्त भएको जानकारी दिए। उनले राजनीतिक मागहरू राख्न सबै स्वतन्त्र भए पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए।

“सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं। विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्,” गृहमन्त्रीले भने, “आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौं। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ। संवादबाटै समस्याको समाधान चाहन्छौं।”

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको उक्त उच्चस्तरीय सुरक्षा बैठकमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न यो बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा विशेषगरी मुलुकको शान्ति सुव्यवस्था कायम राख्ने र सम्भावित आन्दोलन तथा प्रदर्शनलाई संयमित तरिकाले व्यवस्थापन गर्ने विषयमा गहन छलफल भएको बुझिएको छ।


सम्बन्धित समाचार